मधेशमा बायोसेन्ड फिल्टरको पहुँच : अन्सारीको पहलमा दुई स्थानमा शुद्ध पानी व्यवस्था

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–६ स्थित खुटौना गाउँ र कबिलासी नगरपालिका अन्तर्गत अगरवा सशस्त्र प्रहरी क्याम्पमा शनिबार विशेष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालको आर्थिक सहयोगमा र स्थानीय समाज विकास केन्द्रको सहजीकरणमा बायोसेन्ड फिल्टर प्रणाली हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेस प्रदेशकी पूर्वगृहमन्त्री तथा प्रदेशसभा सदस्य बिमला अन्सारीको गरिमामय उपस्थिति रहेको थियो । अगरवा सशस्त्र प्रहरी क्याम्पमा आयोजित कार्यक्रममा स्थानीय समाज विकास केन्द्रका अध्यक्ष, बागमती उपमेयर, हेल्पिङ ह्यान्ड नेपालका को–अर्डिनेटर जिवा पोखरेल, कोषाध्यक्ष रेविका न्यौपाने, सल्लाहकार अर्जुन थापा, फिल्ड अफिसर वसिम अन्सारी तथा सशस्त्र प्रहरी बलका एसपीसहित सम्पूर्ण सुरक्षाकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यसैगरी, खुटौनामा आयोजित कार्यक्रममा वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हाल देशभर, विशेषगरी मधेस प्रदेशमा लगातारको वर्षा नहुनु, भूमिगत जलस्रोत सुक्खा हुनु र बढ्दो तापक्रमका कारण अधिकांश क्षेत्रहरू सुखाग्रस्त बन्दै गएका छन् । यस्तो चुनौतीपूर्ण अवस्थामा खानेपानीको चरम अभाव समाधान गर्न बायोसेन्ड फिल्टर प्रणालीले दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ ।

प्रमुख अतिथि अन्सारीले सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि अपेक्षित प्रतिक्रिया नआएको गुनासो गर्दै यस्तो खालको सहकार्य र सहयोगले तत्कालीन राहतको अनुभूति दिलाउने मात्र नभई जनस्वास्थ्य संरक्षणमा समेत योगदान पुर्‍याउने बताइन् । “स्वास्थ्य सुरक्षासँगै दीगो विकासतर्फको यस्तो पहलले समुदायमा सकारात्मक प्रभाव पार्नेछ,” अन्सारीले भनिन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय