मधेसका ट्राफिक प्रहरीलाई कालो चश्मा उपहार

सर्लाही । गर्मी मौसममा घाम र धूलोबाट बचाउन प्रदेशभरका ट्राफिक प्रहरीलाई नेपाल नेत्र ज्योति संघ, मधेस प्रदेशले कालो चश्मा वितरण गरेको छ।

संघमार्फत सर्लाहीको ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई प्राप्त ७०० थान चश्मा बुधबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाललाई चश्मा हस्तान्तरण गरेका थिए।

चश्मा वितरण कार्यक्रममा सभापति चौधरीले पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै ट्राफिक प्रहरीको कार्य थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै, घाम, धूलो र आँखासम्बन्धी समस्याबाट जोगिन सहयोग पुग्ने उद्देश्यले चश्मा वितरण गरिएको जानकारी दिए।

प्रहरी उपरीक्षक सिलवालले चश्माले ट्राफिक प्रहरीको कार्यक्षमता बढाउन टेवा पुग्ने भन्दै संघलाई धन्यवाद दिए। “घाम र धूलोमा काम गर्दा आँखामा असर पर्ने सम्भावना हुन्छ। चश्माले सुरक्षा प्रदान गर्छ,” उनले भने।

ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यले नागरिकको सुरक्षामा समर्पित ट्राफिक प्रहरीप्रति स्थानीय तहको समर्थन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टसहित मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय