सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत माछा पोखरी (भरत ताल)मा एक २२ वर्षीया युवतीको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार सोमबार दिउँसो करिब १२ बजे तालमा शव तैरिएको जानकारी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक सई सुभाष यादवको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले डुङ्गाको सहायताले शवलाई तालको पूर्व किनारमा ल्याएर सुरक्षित राखेको हो ।
शवको तत्काल पहिचान खुल्न नसकेकी ती युवती तराई मूलकी देखिने बताइएको छ। उनी निलो जिन्स पाइन्ट, हरियो कुर्ता लगाएकी थिइन् र हातमा रातो बाला पनि देखिएको प्रहरीले जनाएको छ।
घटनाको गम्भीरताका कारण थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्डमा थप टोली खटाइएको थियो ।
घटनास्थल ईप्रका कर्मैयाबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



