काठमाण्डाै । आर्थिक वर्ष २०८१/८२ मा मात्र २ हजार ७३ जना प्रहरी कर्मचारी अनुशासनहीनता, लापरबाही वा भ्रष्टाचारजस्ता कारणले कारबाहीमा परेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले सार्वजनिक गरेका विवरणअनुसार, कारबाहीमा परेका अधिकांश तल्लो दर्जाका प्रहरी रहेका छन्।
कारबाहीको चपेटामा सबैभन्दा धेरै प्रहरी जवान परेका छन्। एक वर्षको अवधिमा मात्र ९२४ जना जवान कारबाहीमा तानिएका छन्। त्यसैगरी ४२० जना सहायक हवल्दार, ३४५ जना हवल्दार, ६० जना वरिष्ठ हवल्दार कारबाहीको सूचीमा परेका छन्।
इन्स्पेक्टर तहका ३०, असई १७३, सई ६९, वरिष्ठ सई ९, डीएसपी ३ र एसएसपी १ जनासमेत कारबाहीमा परेका छन्। कार्यालय सहयोगी ३९ जनामाथि पनि अनुशासनजन्य कारबाही गरिएको छ।
प्रहरी संगठनभित्रको अनुशासन र आचारसंहितालाई सुदृढ बनाउने उद्देश्यले कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी मुख्यालयको भनाइ छ। पछिल्ला वर्षहरूमा कारबाहीको संख्या बढ्दै गएको छ, जसले संगठनभित्र सुधार आवश्यक रहेको संकेत गर्छ।



