पूर्व असईको ठगी र डीआईजीको संरक्षणमा मौलाउँदै तस्करी साम्राज्य

काठमाडौं । मधेश प्रदेशमा प्रहरी भित्रकै संलग्नतामा भन्सारछली, तस्करी र ठगीजस्ता आपराधिक गतिविधि मौलाउँदै गएको एकपछि अर्को खुलासाले पुष्टि गरिरहेको छ। हालै सर्लाहीको हिरापुर ब्यारेज चौकीका सई बैद्यनाथ दासले तस्करीको लाइन दिएर घुस मागेको अडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका छन्।

तर, यो त सतहको एउटा मात्र घटना हो। गहिरिएर हेर्दा प्रहरी संगठनकै उच्च तहसम्म पुगेको मिलेमतो र संरक्षणको शृंखला झनै चिन्ताजनक देखिन्छ। मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमाप्रसाद चतुर्वेदीमाथि सादा पोशाकमा प्रहरी परिचालन गरी तस्करीको संरक्षण गरेको आरोप लागेको छ।

स्रोतका अनुसार चतुर्वेदी पूर्व असई श्यामसुन्दर साहको सल्लाहमा घुमुवा प्रहरीहरू खटाउँदै आएका छन्। प्रहरी सेवाबाट राजीनामा दिएपछि पनि साहले मधेशका आठ वटै जिल्लामा सादा पोशाकको नाममा डिलिङ गर्ने प्रहरी सूची तयार पार्दै आएका छन्। उनी हुन्डी, भन्सारछली र तस्करी गर्ने गिरोहसँग सिधा संवाद र लेनदेनमा संलग्न भएको आरोप लाग्दै आएको छ।

पूर्व असई साहमाथि ठगीको पनि गम्भीर आरोप छ। बीरगंजका होटल व्यवसायी देवप्रकाश चौरसियाले ‘डीआईजी–एआईजीका श्रीमतीहरू यो नेटवर्कमा छन्’ भन्दै आफूबाट ७ लाख ५० हजार रुपैयाँ लिएको तर पैसा फिर्ता नगरेको बताएका छन्। उनले रकम अनलाइनमार्फत् दिएको प्रमाण आफूसँग रहेको दाबी गरेका छन्।

त्यस्तै साहले नेपाल प्रहरीका अन्य दर्जनौं अधिकृतहरूसँग करोडौं रकम ठगी गरेको खुलासा हुँदै गएको छ। राजमंगल सिंहसँग ५०–६० लाख, सुरेश यादवसँग ३० लाख र निरज सिंहसँग ५ लाख रुपैयाँ लिएर फिर्ता नदिएको बताइएको छ। पीडितहरूले साह काठमाडौं र बीरगंजमा ठगीकै पैसाले घर–गाडी जोडेर बसेको आरोप लगाएका छन्।

साहले भने आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्। नेटवर्किङको नाममा रकम उठाएको कुरा गलत भएको उनको दाबी छ।

यसैबीच, साहसँगै बारामा कार्यरत सई सागर राणामाथि पनि भन्सार नाकाबाट सामान छिराउनेहरूलाई संरक्षण दिएको आरोप छ। साह–राणा जोडीले १० वर्षसम्म मधेशमा प्रहरी नेतृत्वको संरक्षणमा तस्करीको सम्राज्य चलाएको आरोप लाग्दै आएको छ।

सुरक्षा संयन्त्रमै रहेका व्यक्तिहरूमार्फतै अवैध गतिविधि सञ्चालित भइरहेपछि मधेश प्रदेशको सुरक्षा व्यवस्था गम्भीर संकटमा परेको देखिन्छ। यसरी प्रहरीका उच्च तहसम्मै संलग्नतामा तस्करी र ठगी चलिरहेको अवस्थाले संगठनको नैतिकता र जनविश्वासमा गम्भीर प्रश्न उठाएको छ।

नेपालफेस डटकम बाट साभार गरिएको

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय