गोडैतामा अपराध उर्लिँदा प्रहरी तमासे, चौकी प्रमुखको भूमिकामै प्रश्न

सर्लाही । गोडैतामा पछिल्लो समय आपराधिक गतिविधिहरू डरलाग्दो रूपमा बढिरहेका छन् । चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू नियमितजस्तै भइरहे पनि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीयमा व्यापक आक्रोश फैलिएको छ ।

गएको सोमबार राति गोडैता नगरपालिका–८ मा सुरुङ खनेर चार घरमा एकसाथ चोरी भएको घटनाले सबैलाई चकित बनायो। लाखौं रुपैयाँ नगद, गरगहना र भौतिक सामग्री चोरी भए पनि प्रहरी चुप बसिरह्यो । आश्चर्यजनक त के छ भने घटना प्रहरी चौकीबाट केही सय मिटर टाढा मात्र भएको थियो ।

यसअघि पनि त्यही वडामा यस्तै शैलीमा चोरी भइसकेको थियो भने केही दिनअघिमात्रै एक युवकलाई पेस्तोल देखाएर लुटिएको घटना बाहिर आएको थियो । तर, यी सबै घटनामा गोडैता प्रहरी चौकी र प्रमुख प्रहरी नायब निरीक्षक (सई) अवधेश प्रसाद यादवको निष्क्रियता देखिँदा स्थानीय चिन्तित बनेका छन् ।

प्रहरीको भूमिका र निष्क्रियता बारे जब प्रमुख अवधेशसँग जिज्ञासा राखियो, उनले “यस्ता घटना भएको छैन, बाँकी म बोल्न सक्दिन” भनेर पन्छिने प्रयास गरे । उनको यस्तो गैरजिम्मेवार धारणा र व्यवहारप्रति स्थानीय वासिन्दाहरू क्रोधित बनेका छन् ।

‘हामी उजुरी गर्न पनि डराउँछौं। प्रहरीलाई गुनासो गर्‍यो भने झन् उल्टै झन्झट पार्छ,’ एक स्थानीयले नाम नखुलाउने शर्तमा प्रदेशडायरीसँग गुनासो गरे ।

रातको समयमा गस्ती नगर्ने, घटनामा चासो नदेखाउने, अपराध नियन्त्रणका लागि कुनै प्रभावकारी योजना नहुनु, र सर्वसाधारणसँग समन्वयको अभाव — यिनै कारणले गर्दा अहिले गोडैता बजार त्रासको चक्रव्यूहमै परेको छ ।

सुरक्षा ग्यारेन्टीका लागि स्थापना गरिएको प्रहरी चौकीकै लाचारीका कारण अहिले गाउँका बासिन्दा असहाय महसुस गरिरहेका छन् । स्थानीय शान्ति र सुरक्षामा प्रहरीकै उदासीनताले गम्भीर संकट उत्पन्न गरेको गुनासो उनीहरूको छ ।

अब गोडैताको सुरक्षा स्थिति सुधार गर्न स्थानीय प्रशासन र उच्च प्रहरी निकायले हस्तक्षेप नगरे गम्भीर परिणाम भोग्नुपर्ने स्थानीय चेतावनी दिइरहेका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय