सर्लाही । सर्लाहीको मलङ्गवा भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न फेरि असफल भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा केवल ५३ करोड ७३ लाख १७ हजार ९७६ रुपैयाँ २ पैसा मात्र संकलन गर्न सफल भएको हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यका अनुसार कुल लक्ष्यको ९१.४३ प्रतिशत राजस्व मात्रै उठाइएको छ । अघिल्लो दुई वर्षको तुलनामा यो वर्षको सङ्कलन दरमा केही सुधार देखिए पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको उनले बताए ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र २०७९/८० मा ५२.९८ प्रतिशत राजस्व मात्रै सङ्कलन भएको थियो ।
प्रमुख अधिकृत आचार्यका अनुसार अग्रिम आयकर खारेजीको असरले लक्ष्यअनुसार राजस्व उठाउन कठिन भएको हो । “बजेट वक्तव्यमा अग्रिम आयकर खारेज भएसँगै आयात हुने वस्तुको संख्या घटेको छ, जसले राजस्व सङ्कलनमा प्रत्यक्ष असर पारेको छ,” उनले भने ।
भारतसँगको खुला सीमाले तस्करी नियन्त्रण गर्न कठिन भएको र त्यसकै असर राजस्व सङ्कलनमा परेको कर्मचारीहरू बताउँछन् ।
मलङ्गवा नाका हुँदै भारतबाट विशेष गरी धान, आलु, प्याजजस्ता खाद्यवस्तुहरू आयात हुने गर्छन् । तर, नेपालबाट प्लाइ र केही सीमित सामग्री मात्र भारततर्फ निकासी हुने गरेको कार्यालयले जनाएको छ ।
यसरी, तस्करी, कर प्रणालीमा आएको परिवर्तन र निकासीको न्यून दरले सर्लाही भन्सार कार्यालयलाई निरन्तर लक्ष्य भित्र पुर्याउन चुनौती बनिरहेको देखिन्छ ।



