रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ। आफ्नै खेतमा सिँचाइका लागि विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका–४ बिशुनपुर्ब मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान रहेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीका अनुसार रामबाबु मुखिया करेन्ट लागेर गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भए।
यस्तै, जमुनियाका मोक्तार देवान पनि धान खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।



