सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–८ मा सोमबार राति चोरको समूहले एकैपटक चार घरमा ठूलो चोरी गरेका छन्। पीडित परिवारका अनुसार चोरहरूले माटो खनी सुरुङमार्ग बनाउँदै घरभित्र पसेर नगद, गरगहना र अन्य सामग्री उठाएका हुन्।
चोरीबाट स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुरको घर प्रभावित भएको छ। जोगी मण्डलको घरबाट नगद ३५ हजार रुपैयाँ र दुई मोबाइल हराएको छ। सफी महम्मद दर्जीको घरबाट १० हजार भारतीय रुपैयाँ, रहमत दर्जीको घरबाट एक मोबाइल र नगद २ हजार रुपैयाँ चोरिएको छ।
सबैभन्दा ठूलो क्षति पीर मिहम्मद मन्सुरको घरमा भएको छ। चोरहरूले जग्गा किन्ने प्रयोजनका लागि राखिएको ५ लाख ६ हजार रुपैयाँ नगद र गरगहना समेत लिएर फरार भएको पीडितले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। लगातारका चोरी घटनाले गाउँका बासिन्दा त्रसित बनेका छन्।



