मलंगवा । सर्लाहीको ब्रम्हपुरी प्रहरी चौकीका इन्चार्ज असई मनोज यादवविरुद्ध सार्वजनिक गरिएको अडियो रेकर्डिङ प्रकरण सुनियोजित भएको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे अनुसन्धान गर्दा अडियो ‘फेक ट्र्याप’का रूपमा तयार गरिएको तथ्य बाहिरिएको हो ।
प्रहरी स्रोतका अनुसार, अडियोमा संलग्न बविता महतो नामकी महिला लामो समयदेखि झोलेपोके तस्करीमा सक्रिय छिन् । उनलाई प्रयोग गरेर इलाका प्रहरी कार्यालय बयलबासका घुमुवा प्रहरी हवल्दार रामसेवक ठाकुरले उक्त अडियो रेकर्ड गरेको खुलेको छ । ठाकुर अहिले बयलबासमै घुमुवा प्रहरीको भूमिकामा छन् ।
यसअघि बरथहवा मातहतको हिरापुर चौकीका सई बैजनाथ दास १८ हजार रुपैयाँ घुस लिँदा पक्राउ परेपछि प्रहरीभित्र नै गुटबन्दी र आपसी बदला देखिएको छ । बयलबास इप्रकाका प्रमुख इन्स्पेक्टर निरन्जन भट्टराईकै मातहतको समूहले असई यादवलाई फसाउन खेल चलाएको आरोप प्रहरी स्रोतले लगाएको छ ।
अडियोमा ‘पैसा मागिएको’ प्रमाण छैन
जिल्ला प्रहरी कार्यालय सर्लाहीले अडियो सुनेर विश्लेषण गर्दा कुनै प्रकारको बार्गेनिङ, पैसा माग वा तस्करीसम्बन्धी कुरा नभएको स्पष्ट गरेको छ । अडियोमा असई यादवले मात्र “म पक्राउ परेका कुरामा केही गर्न सक्दिन, छानबिन गर्ने निकाय छुट्टै छ” भनेको सुन्न सकिन्छ ।
‘व्यावसायिक छवि ध्वस्त पार्ने खेल’
प्रहरीको भनाइमा सामान्य संवादलाई काटछाँट गरी भाइरल बनाउँदै असई यादवको व्यावसायिक छवि ध्वस्त पार्ने प्रयास गरिएको हो। प्रहरीका अनुसार, “जनताका फोन उठाउनु र प्रश्नको जवाफ दिनु प्रहरीको कर्तव्य हो ।”
कारबाहीको चेतावनी
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले असई यादवलाई बोलाएर सोधपुछ गरिसकेको र अडियोको आरोप आधारहीन भएको बताएको छ । साथै, प्रहरी प्रशासनले चेतावनी दिएको छ, “सत्य तथ्य नबुझी अफवाह फैलाउनेहरूमाथि कानुनी कारबाही हुनेछ ।”
असई यादवले पनि आफूविरुद्धको आरोपलाई “असत्य र नियतबस गरिएको” भन्दै कानुनी लडाइँ अघि बढाउने तयारी गरेको जनाएका छन् ।



