अरोज यादव । सर्लाही । जनमत पार्टी सर्लाहीले पार्टीबाट पहिले नै निलम्बित गरिएका तीनजना पूर्वपदाधिकारीहरूले पार्टी निर्देशन र सिद्धान्त विपरित गतिविधि गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कानुनी कारबाहीका लागि निवेदन दर्ता गरेको छ ।
पार्टीका अनुसार पूर्व राष्ट्रिय उपाध्यक्ष दिपक साह, पूर्व कोषाध्यक्ष सूर्यनारायण यादव र केन्द्रीय सदस्य शम्भु साहले गैरकानुनी रूपमा पार्टीको झन्डा र व्यानर प्रयोग गरी विभिन्न स्थानमा कार्यक्रम गर्दै आएका छन् । उनीहरूले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध भ्रामक प्रचारसमेत गरेको जनमत पार्टीले आरोप लगाएको छ ।
सर्लाहीका विभिन्न क्षेत्रमा ती तीनै जना मिलेर पार्टीको छवि बिगार्ने खालका गतिविधि गर्दै आएको जनाउँदै जनमत पार्टी सर्लाहीका जिल्ला इञ्चार्ज श्रीचन यादवले कानुनी दायरामा ल्याई थुनामा राख्नुपर्ने माग गरेका छन् ।
उनले भने, “यदि सो गैरकानुनी गतिविधि तत्काल नरोके, भौतिक रूपमा कारबाही गर्न बाध्य हुनेछौँ ।”
जनमत पार्टीले यस्तो किसिमको गतिविधि पार्टी भित्र गुटबन्दी र अनुशासनहीनता बढाउने भन्दै कडा रूपमा निन्दा समेत गरेको छ ।



