सर्लाही । जनता समाजवादी पार्टी (जसपा) ले झुठा मुद्दा खारेजीको माग गर्दै दोस्रो दिन पनि सर्लाहीको सदरमुकाम मलंगवामा चक्काजाम र बन्द गराएको छ । मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवविरुद्ध आपराधिक उपद्रवको आरोपमा पक्राउ पुर्जी जारी भएपछि पार्टीले शुक्रबार र शनिबार दुई दिने आन्दोलन घोषणा गरेको थियो ।
शनिबार बिहानैदेखि जसपाका कार्यकर्ताहरू नेता यादवको गाउँ कविलासीको सलेमपुर चोक र मलंगवा बजारमा भेला भई नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् । जसपाको आन्दोलनका कारण मलंगवाका पसल, व्यवसाय र यातायात ठप्प छन् । नवलपुर – मलंगवा सडक खण्डमा चार पांग्रे सवारी साधन आंशिक रूपमा वैकल्पिक बाटो हुँदै चलेका छन् भने मोटरसाइकलहरू भने निर्वाध रूपमा चलिरहेका छन् ।
गत असार १९ गते राति पूर्वाधार विकास कार्यालय मलंगवामा भइरहेको भनिएको अनियमितता र त्यसमा प्रहरीको संलग्नताको आरोप लगाउँदै एसपी योगेन्द्रकुमार खड्कासँग टेलिफोनमा कुरा गर्दै नेता यादवले अपशब्द प्रयोग गरेका थिए । त्यसको भोलिपल्ट सर्लाही जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता यादव फरार छन् ।
प्रहरीले भारतीय पक्षसँग समेत समन्वय गरी खोजी तीव्र पारे पनि यादव पक्राउ पर्न सकेका छैनन् । जसपाका नेताहरूले एसपी खड्काले पनि अपशब्द बोलेको भन्दै उनीमाथि पनि कारबाहीको माग गर्दै आन्दोलन चर्काइरहेका छन् ।
यसैबीच, स्रोतका अनुसार फरार रहेका जसपा प्रदेश अध्यक्ष अशोक यादव अदालतमा स्वयं उपस्थित हुने तयारीमा रहेको बुझिएको छ । आन्दोलनकै क्रममा उनलाई नाराबाजीसहित अदालत उपस्थित गराउने तयारीमा रहेको जसपा सर्लाहीका एक नेताले रातोपाटीसँग बताए ।



