अशोक यादवमाथिको मुद्दा खारेजीको मागमा चर्कियो विरोध, मलंगवा बजार ठप्प

सर्लाही । प्रहरीको ज्यादतीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आह्वान गरेको दुईदिने बन्दको पहिलो दिन शनिबार सर्लाहीको सदरमुकाम मलंगवा बजार पूर्ण रुपमा ठप्प भएको छ।

जसपाका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवविरुद्ध दायर गरिएको ‘झूठो मुद्दा’ खारेजीको मागसहित र जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाहीको माग गर्दै बन्द गरिएको हो।

शनिबार बिहानैदेखि मलंगवाको बजार, कलकारखाना, पसल तथा सार्वजनिक यातायात पूर्णरूपमा बन्द छन्। शुक्रबार साँझ मसाल जुलुससहित विरोध प्रदर्शन गरेपछि आज बिहान कार्यकर्ताहरूले सलेमपुर चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्। मलंगवा–नवलपुर सडकखण्डमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प बनेको छ।

विरोधको मूल कारण जिल्ला पूर्वाधार विकास कार्यालयमा देखिएको ‘कमिसन काण्ड’ हो। उक्त कार्यालयमा राति चेक काट्ने विषयमा उठेको प्रश्नलाई लिएर अध्यक्ष यादव र एसपी खड्काबीच भनाभन भएको थियो। त्यसको भोलिपल्ट यादवलाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका थिए भने प्रहरी गाडीमा तोडफोडसमेत गरिएको थियो।

सर्लाही जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पूर्जी जारी गरे पनि एक साता बित्दासम्म पनि उनी पक्राउ परेका छैनन्। जसपाले मुद्दा खारेज नगरे सशक्त आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय