सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवविरुद्ध प्रहरीले दायर गरेको जाहेरीको विरोधमा सर्लाहीमा फेरि प्रदर्शन गरिएको छ।
शुक्रबार साँझ मलंगवामा मसाल जुलुस निकालिएको हो। जसपा सर्लाहीले आयोजना गरेको जुलुसमा सहभागीहरूले नेता यादवमाथिको मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित भएको भन्दै तत्काल फिर्ता लिन माग गरे।
प्रदर्शनकारीहरूले हातमा मसाल बोकेर मुख्य बजार परिक्रमा गर्दै “झुट्टा मुद्दा खारेज गर”, “राजनीतिक प्रतिशोध बन्द गर”, “नेता यादवको रिहाइ गर” जस्ता नारा लगाए।
जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले प्रहरी प्रशासनले मुद्दा फिर्ता नगरे शनिबार र आइतबार दुई दिन मलंगवा बजार पूर्ण बन्द गरिने चेतावनी दिएका छन्।
यसअघि गत शनिबार पनि जसपाले मलंगवामा प्रदर्शन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने यादवविरुद्ध अपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
असार १९ गते बिहीबार राति एसपी योगेन्द्रकुमार खड्का र नेता यादवबीच टेलिफोनमा गालीगलौज भएको थियो।
त्यसको भोलिपल्ट शुक्रबार दिउँसो प्रहरीले अदालतमा जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिएको हो।
प्रहरी प्रशासन र राजनीतिक दलबीचको बढ्दो तनावसँगै सर्लाहीको जनजीवन थप अस्तव्यस्त हुन सक्ने संकेत देखिएको छ।



