महोत्तरी । सामाजिक सञ्जालमा महोत्तरीका पत्रकारहरूलाई बदनाम गर्ने प्रयास भएको भन्दै जिल्लाका पत्रकार संगठनहरूले आक्रोश व्यक्त गरेका छन्।
पूर्वाधार विकास कार्यालय जलेश्वरको समाचारसँग जोडेर सामाजिक सञ्जालमा महोत्तरीका पत्रकारहरू विरुद्ध धारणाहरू बनेपछि नेपाल पत्रकार महासंघ महोत्तरी, नेपाल प्रेस युनियन महोत्तरी, प्रेस चौतारी नेपाल महोत्तरी, प्रेस सेन्टर नेपाल महोत्तरी र प्रेस मञ्च नेपाल महोत्तरीले संयुक्त विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा विषयको स्पष्टता बिना पत्रकारहरूको व्यावसायिक निष्ठामाथि प्रहार गरिएको भन्दै यसले समग्र पत्रकारितामै प्रहार भएको उल्लेख गरिएको छ।
‘बिना आधार आक्षेप लगाएर पत्रकारिताको चरित्र हत्या गर्ने प्रपञ्च बन्द गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
पत्रकार संगठनहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाललाई ज्ञापनपत्र समेत बुझाएका छन्।
सामुदायिक प्रसारक संघ (अकोराब) मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीमाथि सामाजिक सञ्जालमा गरिएको टिप्पणी र आरोपप्रति पनि विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ।
‘सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी गर्दा स्पष्टताका साथ प्रस्तुत हुनुपर्ने हाम्रो आग्रह छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिप्रति सरोकारवाला निकायहरू संवेदनशील बन्न जरुरी छ।’
अगामी दिनमा सामाजिक सञ्जालमा हुने यस्ता टिप्पणी र आरोपप्रत्यारोपले सामाजिक सद्भावमै असर पार्ने भन्दै पत्रकार संगठनहरूले सबैलाई सजग हुन अपिल गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेशकुमार दास, प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष सिंह, प्रेस चौतारी नेपाल महोत्तरीका अध्यक्ष रामनारायण महतो, प्रेस सेन्टर नेपाल महोत्तरीका अध्यक्ष विशाल बस्नेत र प्रेस मञ्च नेपाल महोत्तरीका अध्यक्ष अरविन्दकुमार झा (गोपाल)का हस्ताक्षर छन्।




