सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाका जनप्रतिनिधिहरू सेनेटरी प्याड खरिदमा लाखौँ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा विद्यालयमा अध्ययनरत छात्राहरूलाई वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा गाउँपालिकाले ठूलो घोटाला गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
गाउँपालिकाको शिक्षा शाखाले बजार मूल्यभन्दा निकै बढी रकम तिरेर प्याड खरिद गरेको भेटिएको हो । खरिदका बेला बजारमा अधिकतम खुद्रा मूल्य प्रतिप्याकेट ४५ रुपैयाँ रहेको सेनेटरी प्याड गाउँपालिकाले ७३ रुपैयाँ ३२ पैसामा किनेको देखिएको छ ।
पालिकाले ११ हजार १७० प्याकेट सेनेटरी प्याड खरिद गर्दा ८ लाख १८ हजार ९८४ रुपैयाँ खर्च गरेको छ। वास्तविक बजार मूल्य अनुसार त्यति प्याडको लागत ५ लाख २ हजार ६५० रुपैयाँ मात्र पर्नुपर्ने हो । यसरी गाउँपालिकाले ३ लाख ५ हजार १६५ रुपैयाँ बढी तिरेको देखिएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा गाउँपालिकाले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको स्पष्ट उल्लेख छ ।
हाल गाउँपालिकाको शिक्षा शाखामा रहेका प्रमुख अरुण प्रजापतिले आफू गत आर्थिक वर्षमा जिम्मेवार पदमा नरहेको भन्दै यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
विद्यालयका छात्राहरूका लागि खरिद गरिएका प्याडमै लाखौं रुपैयाँको भ्रष्टाचार भएको चर्चा अहिले गाउँपालिकामा व्यापक बनेको छ ।



