अशोक यादवमाथि प्रहरी दुर्व्यवहारको विरोधमा ६ दलको संयुक्त चेतावनी

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले गरेको व्यवहारप्रति ६ वटा राजनीतिक दलहरूले संयुक्त आपत्ति जनाएका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले मधेशी भएकै कारण यादवमाथि प्रहरी प्रमुखले विभेदकारी व्यवहार गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा उल्लेख अनुसार, सर्लाहीका विभिन्न सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार, लुटतन्त्र, मनोमानीका विषयमा पटक–पटक आवाज उठाउँदै आएको तर सुरक्षा निकायहरू चुप लागिरहेको उल्लेख गरिएको छ ।

‘असार १५ गते बिहीबार राति पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखले मेनगेटमा ताल्चा लगाएर प्रहरी परिचालन गरी काम गरिरहेको देखेर सेवाग्राही त्रसित भएको सूचना पाएपछि प्रदेश अध्यक्ष यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र खड्कासँग फोनमा बुझ्न खोज्दा मधेशी भन्दै अपमानजनक र विभेदकारी भाषा प्रयोग गरी व्यवहार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, यादवमाथि लगाइएको मुद्दा झुठा र षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै तत्काल खारेज गर्न माग गरिएको छ । जिल्ला प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन दलहरूले जोड दिएका छन् ।

‘यदि यस्ता विभेदकारी, नश्लीय सोचहरू सचिएनन् भने हामी कडा सडक संघर्षमा जान बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमा जसपा सर्लाही अध्यक्ष शम्भु प्रसाद यादव, नेपाल समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष जितेन्द्र कुमार साह, प्रदेश सदस्य शिव पुजन राय, जसपा जिल्ला प्रतिनिधि सजिव यादव, जनमत पार्टीका जिल्ला सचिव मिथलेश यादव र लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष दिलिप कर्णले हस्ताक्षर गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने दलहरूमा जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय