सर्लाही । सर्लाहीको सलेमपुरस्थित पूर्व मधेश प्रदेशसभा सदस्य अशोक कुमार यादवको घरमा राति १२ बजे प्रहरीले छापा मारेर उनका जेठा छोरा इन्जिनियर हृर्देश यादवमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको घटना बाहिरिएको छ ।
घटनापछि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद प्रमोद शाहले सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोख्दै प्रहरी प्रशासनलाई कडा कारबाही गर्न र सरकारलाई तत्काल ध्यानाकर्षण गराएका छन् ।
शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्,
“घटनाले नेपालको संविधान, राष्ट्रिय मानव अधिकार ऐन, अन्तर्राष्ट्रिय मानवीय कानुन र मानव अधिकारका आधारभूत सिद्धान्तहरूको खुला उल्लंघन मात्र होइन, मधेस र मधेसी समुदायमाथि राज्य संरक्षित विभेद र दमनको अर्को ज्वलन्त उदाहरण पनि बनेको छ ।”
उनले पूर्व सांसद यादव र जिल्ला प्रहरी प्रमुखबीचको विवाद देखाएर रातको समयमा अवैध रूपमा छापा मारेर घरमा पसेर छोरा इन्जिनियर हृर्देश यादवमाथि निर्घात कुटपिट गर्नु अमानवीय, निन्दनीय र अक्षम्य अपराध भएको उल्लेख गरेका छन् ।
“घाँटीको नसासम्म चोट पुर्याउने गरी गरिएको यस्तो कुकर्मले प्रहरी प्रशासनको नाङ्गो चरित्र उजागर गरेको छ । प्रहरी कानुनभन्दा माथि होइन भन्ने कुरा अहिले नै बुझ्न जरुरी छ, नत्र जनआक्रोश नियन्त्रण बाहिर जानेछ,” शाहले चेतावनी दिएका छन् ।
शाहले मधेसमा राज्य संरक्षित विभेद र दमनको इतिहास अझै नसकिएको भन्दै, मधेसी समुदायप्रति यस्तो व्यवहार राज्यको गम्भीर लापरवाही भएको बताएका छन् ।
उनले इन्जिनियर हृर्देश यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार, राष्ट्रिय मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय मानव अधिकार संस्थालाई निष्पक्ष छानबिन गर्न र दोषी प्रहरी अधिकारीमाथि कडा कारबाही गर्न आह्वान गरेका छन् ।
साथै, पीडितलाई उचित क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न माग गर्दै, शाहले राज्यको कुनै पनि अंग राजनीतिक वा व्यक्तिगत विवादमा नलाग्न चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा शाहले लेखेका छन्, “यसरी मधेस–मधेसीमाथि विभेद र दमन जारी राखिए लोकतान्त्रिक मुल्य–मान्यतामा गम्भीर संकट उत्पन्न हुनेछ । सम्पूर्ण सरोकारवाला पक्षलाई घटनाको विरोधमा एकजुट हुन आह्वान गर्दछु ।”
उनको यस्तो अभिव्यक्तिले मधेसमा थप राजनीतिक ताप बढाएको छ।



