सर्लाही । भारतको बिहारस्थित सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सर्लाही प्रहरीले सकुशल उद्धार गरी नेपाल फर्काएको छ ।
ईलाका प्रहरी कार्यालय कर्मैयामा ईन्चार्जको रूपमा कार्यरत प्रहरी सई सुवास यादवको सक्रियता र भारतीय प्रहरीसँगको समन्वयमा बालिकाको सफल उद्धार गरिएको हो ।
सर्लाहीको चक्रहरिया गाउँपालिका–खोरिया स्थायी घर भई हाल भारतको सितामढीमा आमासँग बस्दै आएकी बालिका जेठ २२ गते हराएकी थिइन् ।
हराइपछि बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय सर्लाहीमार्फत ईलाका प्रहरी कार्यालय कर्मैयामा निवेदन दिएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानमा सर्लाहीकै मदनपुर निवासी विवेक गिरीसँगको सम्बन्धका कारण बालिका हराएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।
बालिकाको खोजीका लागि सूचना प्रविधिको प्रयोगसहित अनुसन्धान अघि बढाउँदै ईन्चार्ज सई सुवास यादव नेतृत्वको टोलीले तीव्र सुराकी संकलन गरेको थियो ।
खोजतलासको क्रममा बालिका भारतकै सितामढीमा रहेको पुष्टि भएपछि भारतीय प्रहरीसँग समन्वय गरेर उद्धार गरिएको ईलाका प्रहरी कार्यालय कर्मैयाका ईन्चार्ज यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार दुवै देशका सुरक्षाकर्मीबीचको सहकार्यकै कारण बालिकाको सकुशल उद्धार सम्भव भएको हो ।
“समन्वयमा काम गर्दा यस्ता जटिल समस्या सजिलै समाधान गर्न सकिन्छ,” डिएसपी राईले भने ।
उद्धारपछि बालिकालाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।
घटनामा संलग्न रहेको आशंकामा मदनपुरका विवेक गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले प्रहरीको सक्रियता प्रशंसनीय रहेको भन्दै यस्ता प्रयास अन्य घटनाका लागि पनि उदाहरणीय हुने बताए ।



