पर्सा गाउँपालिकाले सार्वजनिक गर्‍यो ३४ करोडको बजेट, सहमति नजुट्दा गाउँसभा ढिलो

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकाले शुक्रबार १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था रहे पनि पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच सहमति नजुटेपछि गाउँसभा असार १३ गते मात्र सम्पन्न गरिएको हो ।

शुक्रबार सम्पन्न गाउँसभामा उपाध्यक्ष नुतन देवीसहित सबै वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

जिल्लाकै सानो (२३.१२ वर्ग किलोमिटर) भू–भागमा फैलिएको पर्सा गाउँपालिकाले कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, सडक ढलान र भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट ल्याएको हो ।

पर्सा गाउँपालिकाको १५ औँ गाउँसभा मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समारोहमा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख पुष्पराज गुरागाईंको विशिष्ट उपस्थिति रहेको थियो ।

सर्लाहीका अन्य १९ पालिकाले भने कानुनी म्यादभित्रै बजेट सार्वजनिक गरिसकेका छन् ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय