असुरक्षित बन्दै सडक यात्रा : लालबन्दीमा टिपरको ठक्करले २० वर्षीय युवकको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडकमा बुधबार दिउँसो भएको एक दर्दनाक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कबिलासी नगरपालिका–८, अगर्वाका स्थायी बासिन्दा तथा हाल मेजरगञ्ज बसोबास गर्दै आएका २० वर्षीय सचिन साह गुप्ता टिपरको ठक्करबाट गम्भीर घाइते भएपछि अस्पताल लैजाने क्रममा ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, दिउँसो ट्युसन पढेर साइकलमा घर फर्किँदै गरेका गुप्तालाई जब्दीबाट लालबन्दीतर्फ गइरहेको ना २ क ५०१ नम्बरको टिपरले ठक्कर दिएको थियो । प्रहरी नायब उपरीक्षक सरोज राईले घाइते अवस्थामा रहेका गुप्तालाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्वा पुर्याइएको तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जानकारी दिएका छन् ।

तर, घटनाबारे पीडित परिवारले फरक दाबी गरेका छन् । उनीहरूको भनाइमा, गाडी चलाउने चालकको लापरवाहीकै कारण दुर्घटना भएको हो र घटनास्थलमै ज्यान गुमाएका युवकलाई सुरक्षाकर्मीले घाइतेको रुपमा अस्पताल पुर्याएको आरोप लगाएका छन् ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरू आक्रोशित बनेका थिए । उनीहरूले दुर्घटना गराउने टिपरमा आगो लगाएका थिए, जसबाट सवारीको अगाडिको भाग पूर्णरूपमा जलेको छ । यद्यपि, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

घटनापछि टिपर चालक फरार भएका छन् र प्रहरी उनको खोजीमा खटिएको जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय