सर्लाही । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीको केन्द्रिय समितिको आगामी बैठकले निलम्बन गर्ने तयारी भइरहेको छ । एक पदाधिकारीका अनुसार अब बस्ने केन्द्रिय समितिको बैठकले पार्टीको विधान र कानुनअनुसार निर्णय लिनेछ ।
सिंहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि स्वतः निलम्बन हुनुपर्ने चर्चा भए पनि सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिइएको भन्ने खबरका कारण प्रक्रिया ढिलो भएको हो । तर, उक्त निवेदन हालसम्म सर्वोच्चमा दर्ता नभएको पुष्टि भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुंईकेलका अनुसार सिंहले पुनरावलोकनको निवेदन दिन खोजे पनि आवश्यक कागजात नपुगेका कारण निवेदन हालसम्म दर्ता हुन सकेको छैन ।
केही महिनाअघि सिंहविरुद्ध जिल्लास्तरीय पदाधिकारीहरू नै आन्दोलनमा उत्रिएका थिए । उनले भ्रष्टाचारको दोषी ठहर भइसकेपछि पनि पार्टीको गुटबन्दीमा सक्रिय भूमिका खेलेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यालयमै धर्ना कार्यक्रमहरू सञ्चालन भएका थिए ।
अब सिंहको भविष्यबारे निर्णायक निर्णय पार्टी केन्द्रिय समितिको बैठकले गर्नेछ ।



