स्थानीय तहमा जनसहभागिता र प्रविधिको पहुँच विस्तारमा युनेस्कोको सक्रियता

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा युनेस्कोका गतिविधिहरूको प्रभावलाई उजागर गर्ने उद्देश्यले दुईदिने सार्वजनिक सुनुवाइ तथा प्रविधिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय आयोग (युनेस्को) सचिवालयद्वारा आयोजित यस कार्यक्रम मलंगवा पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता युनेस्कोका सह–महासचिव रामेश्वर प्रसाद यादवले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह उपस्थित हुनुहुन्थ्यो।

दुईदिने कार्यक्रमको सहभागितामा बलरा नगरपालिकाका प्रमुख रमाशंकर कुशवाहा, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, आयोग सदस्यहरू डा. कामलेश्वर सिन्हा र जितेन्द्र प्रसाद सिंह, नेपाल पत्रकार महासंघका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको पहिलो दिन, युनेस्कोका सह–महासचिव यादवले बलरा नगरपालिकामा अघिल्लो वर्ष सम्पन्न विज्ञान प्रदर्शनीका निष्कर्ष तथा उपलब्धिहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी, आम सञ्चार समिति सदस्य जितेन्द्र सिंह र डा. सिन्हाले पनि आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्दै विज्ञान र सञ्चारको भूमिकाबारे प्रकाश पार्नुभयो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि कौशल किशोर सिंहले युनेस्कोले सर्लाही जिल्लामा शिक्षा, विज्ञान तथा सञ्चारका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय तहमा जनचेतना बढाउन र सहभागी शासन प्रणालीलाई सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, पत्रकार महासंघका प्रतिनिधिहरूले कार्यक्रमका संयोजक तथा सरोकारवालासँग कार्यक्रमको उद्देश्य, उपलब्धि र आगामी योजनाका सम्बन्धमा प्रत्यक्ष संवाद र जानकारी आदानप्रदान गरेका थिए।

आयोजकका अनुसार, सार्वजनिक सुनुवाइ तथा प्रविधिकरण कार्यक्रमको उद्देश्य स्थानीय तहमा नागरिक सहभागिता अभिवृद्धि गर्नु, पारदर्शिता कायम राख्नु र विशेषगरी युवा तथा विद्यार्थीहरूलाई वैज्ञानिक चिन्तन र समावेशी संवादतर्फ उत्प्रेरित गर्नु रहेको छ।

यस कार्यक्रमले युनेस्कोको स्थानीय तहमा प्रभावकारी उपस्थिति र यसको दीर्घकालीन दृष्टिकोणलाई झल्काउने संकेत गरेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय