पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा आकस्मिक अनुगमन गरेका छन्। भारतीय सवारीसाधनबाट अवैध कर असुली भइरहेको सूचनापछि उनी आफैं अनुगमनमा निस्किएका हुन्।
मुख्यमन्त्री सिंहको टोलीले छड्के जाँचका क्रममा अस्थायी ढाट राखेर गैरकानुनी रूपमा रकम असुलिरहेका तीन जनालाई रंगेहात नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
पछिल्लो समय भारतीय नम्बर प्लेट भएका सवारीसाधनसँग तोकिएकोभन्दा बढी रकम असुल्ने गुनासो सार्वजनिक हुँदै आएको थियो। त्यही गुनासोका आधारमा मुख्यमन्त्री सिंहले सडकमै पुगेर अनुगमन गरेका हुन्।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो। अब अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार सह्य हुँदैन।”
पक्राउ परेकाहरूको विस्तृत विवरण हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।



