कमिसन र बिचौलियाको जालो भत्कियो: विवादास्पद डा. झा सर्लाहीबाट हटाइए

सर्लाही — कमिसनको खेल, बिचौलियाको चलखेल र कार्यक्षमतामा लापरवाहीका आरोप खेपिरहेका सर्लाही स्वास्थ्य कार्यालयका प्रमुख डा. नवल किशोर झाको अन्ततः सरुवा गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय अनुसार अब डा. झा स्वास्थ्य निर्देशनालय, सपही, धनुषामा खटिनेछन्।

डा. झाले प्रादेशिक अस्पताल मलङ्गवाको प्रमुख (मे.सु.) को जिम्मेवारीमा रहँदा समेत विवादमा तानिँदै आएका थिए। आरोप अनुसार, उनले बिरामीलाई कमिसनको लोभमा निजी अस्पतालमा रेफर गर्नुका साथै नक्कली प्रमाणपत्र भएका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने जस्ता कार्य गरेका थिए। अस्पतालको सेवा प्रवाह, खाना व्यवस्था, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्रमा व्यापक कमजोरी देखिएको थियो।

मुख्यमन्त्री सतिशकुमार सिंह स्वयंले अनुगमन गरी सुधारका निर्देशन दिए पनि डा. झाले तिनको कार्यान्वयनमा बेवास्ता गरेका थिए। अधिकांश समय काठमाडौँमै बसेर बिचौलियामार्फत कार्यालय संचालन गरेको आरोप पनि उनीमाथि लागेको थियो।

अब स्वास्थ्य कार्यालय सर्लाहीको नेतृत्व आठौँ तहका कर्मचारी लालबाबु यादवले सम्हाल्नेछन्। नागरिक र स्वास्थ्यकर्मीहरूमा डा. झाको सरुवापछि राहतको अनुभूति भएको छ भने नयाँ नेतृत्वबाट सुधारको आशा गरिएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय