सर्लाही — जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान अन्तर्गत ट्याक्टरहरूलाई लक्षित गर्दै सशक्त कदमहरू चालिरहेको छ।
अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको कार्यवाहीद्वारा नम्बर प्लेट नभएका ट्याक्टरहरूमा सवारी नम्बर लेखाउनका साथै ट्रलिको पछाडिको भागमा रिफ्लेक्टिभ (फ्लोरेसेंट) स्टिकर टाँस्ने काम भइरहेको छ।
साथै, ट्राफिक नियम, सवारी दुर्घटना, सडकको सुरक्षित प्रयोग तथा नियम उल्लंघन गरेमा लाग्ने जरिवाना र कारबाहीका विषयमा चालकहरूलाई सचेत गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
हालसम्म १५० भन्दा बढी ट्याक्टरहरूमा सवारी नम्बर र फ्लोरेसेंट स्टिकर टाँसिएको कार्यालयले जनाएको छ। यस अभियानले सर्लाही जिल्लामा सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।



