काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीर देउवाको नाममा हिल्टन होटलको खरिद सम्बन्धी सार्वजनिक भएका समाचारप्रति होटल सञ्चालकले आपत्ति जनाएका छन्।
राजधानीको नक्सालस्थित पाँचतारे होटल हिल्टनको सेयर खरिदमा जयवीरको संलग्नता नरहेको शंकर ग्रुप र जगदम्बा हस्पिटालिटीले स्पष्ट पारेका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले समाचार भ्रामक र आधारहीन भएको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हामी यस किसिमका अफवाह र तथ्यहीन सामग्रीबाट स्तब्ध छौं र यसको खण्डन गर्दछौं।”
उक्त होटल गत साउनदेखि सञ्चालनमा आएको हो र त्यसको औपचारिक उद्घाटन तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो।
शंकर ग्रुपका मालिक शुलभ अग्रवाल अतीतमा थर्मल–गन बिक्रीमा अनियमितताको आरोपमा प्रहरीद्वारा पक्राउ परिसकेका छन्। उनको निलो नम्बरप्लेटको गाडीबाट ६६ थान थर्मल–गन बरामद भएको थियो। अग्रवाल जगदम्बा स्टिल्स र सिमेन्टका मालिक समेत हुन्, जसको मातृसंस्था शंकर ग्रुपले नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ९० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ।
उक्त बक्यौता मिनाहा गराउन शंकर ग्रुपले उच्च राजनीतिक पहुँच प्रयोग गरिरहेको भन्ने आरोप पनि सार्वजनिक भइरहेका छन्। होटल बिक्रीबारे तथ्य सार्वजनिक गर्न अग्रवाल परिवारले चुनौती समेत दिएको छ।



