पर्सा — तीन वर्षअघि विवाह सम्पन्न भएपछि बेहुली बिदा गर्न नमानेको विषयमा उत्पन्न झडपमा एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पोखरिया नगरपालिका–५ निवासी ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान रहेका छन्।
२०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका–६ श्रीसियाका धर्मेन्द्र प्रसाद चौहान र पोखरिया–५ सतवरियाकी निशा कुमारी चौहानको विवाहमा दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। बेहुली बिदाइको क्रममा उत्पन्न तनावले झडपको रुप लिँदा, २०७९ साल वैशाख ९ गते पोखरिया नगरपालिका–४ मा रहेको वाल उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्राङ्गणमा हात हालाहाल भएको थियो।
झडपमा बेहुलाका बुबा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनको काठमाडौँस्थित सहिद गंगालाल अस्पतालमा २०७९ असार ११ गते उपचारको क्रममा निधन भएको थियो।
प्रहरीले मृतक पक्षबाट प्राप्त किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दै तीन वर्षपछि सिकेन्द्रलाई पक्राउ गरेको हो। उनलाई पहिलो चरणमा ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार घटनामा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ।



