झापाको कनकाई नगरपालिका–५ चाप्रामारीस्थित सुरुङ्गा–झापा सडक खण्डमा सोमबार बिहान प्रहरीले चेकिङ गर्ने क्रममा एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिहान पौन ९ बजे चेकिङका क्रममा बीआर ३७टी९१९८ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिलाई रोकेर जाँच गर्न लाग्दा उनी आफ्नो झोला र मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले उनलाई समात्ने प्रयासस्वरूप दुई राउन्ड हवाई फायरसमेत गरेको भए पनि ती व्यक्ति फरार भएका छन्। फरार अभियुक्तले छाडेको झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।



