विराटनगर – मोरङको विराटनगर महानगरपालिका–१३ स्थित एक किराना पसलमा नक्कली भारतीय नोट चलाउने प्रयास गर्ने एक भारतीय युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकी युवती भारत बिहार राज्यको अररिया जिल्ला निवासी १९ वर्षीया सिम्पी बैसन्ति हुन्। उनले पसलमा सामान किन्दा भारतीय ५ सय रुपैँयाको नोट दिएकी थिइन्। पसल धनीले उक्त नोटमा शंका लागेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय रानीबाट आएको टोलीले बैसन्तिको साथबाट ५ सय दरका ७ वटा नक्कली भारतीय नोट र नेपाली ३ हजार १ सय रुपैयाँ बरामद गरेको हो।
हाल बैसन्तिमाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



