सर्लाहीको धनकौलमा कृषि बाटो निर्माणमा ७ लाखभन्दा बढी रकम हिनामिना, प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिका वडा नं. ६ मा कृषि बाटो निर्माण कार्यमा मिलेमतो गरी अनियमितता गरेको आरोपमा प्रशासकीय अधिकृत, इन्जिनियर, वडा अध्यक्ष सहित ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी, फिल्डमा वास्तविकभन्दा बढी कार्य देखाई नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरिएको थियो । सोही आधारमा झुट्टा बिल भरपाई बनाइ रु. ७,७९,२०५ बढी रकम भुक्तानी लिई गैरकानूनी लाभ लिएको पुष्टि भएको हो ।

उक्त अनियमिततामा संलग्न व्यक्तिहरुमा धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, एकजना इन्जिनियर, वडा नं. ६ का वडा अध्यक्षसहित अन्य ६ जना कर्मचारी तथा पदाधिकारी रहेका छन् । उनीहरुले मिलेमतो गरी सरकारी योजनाको रकम हिनामिना गर्दै गैरकानूनी लाभ लिएको र राज्यलाई हानि पुर्याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले संलग्न सबै व्यक्तिहरूले आ – आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक योजना कार्यान्वयन प्रक्रियामा गम्भीर अनियमितता गरेको ठहर गर्दै कानूनअनुसार कडा सजाय माग गर्दै आरोपपत्र पेस गरेको छ ।

विशेष अदालतमा दायर मुद्दामा दोषी ठहर भएमा सम्बन्धित पदाधिकारीहरूलाई कैद र जरिवाना दुवै सजाय हुनसक्नेछ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय