उपभोक्ता ठगी रोक्न मलंगवाका ग्यास डिलरमा प्रहरीको अनुगमन, अनियमितता भेटिए कारबाही हुने

मलंगवा । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी तथा उपभोक्ता ठगी भइरहेको गुनासो बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा रहेका ग्यास डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा आइतबार मलंगवा बजारमा रहेका सहारा, सुपर, अम्बर, नेविल र जगदम्बा ग्यासका डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको हो । प्रहरी टोलीले सम्बन्धित पसल तथा गोदाममा पुगेर ग्यासको मौज्दातदेखि बिक्री वितरणको अवस्थासम्म निरीक्षण गरेको जनाएको छ ।

अनुगमनका क्रममा ग्यासको वास्तविक मौज्दात, बिक्री वितरणको अवस्था, उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रक्रिया, बजारमा भइरहेको आपूर्ति तथा ग्यास अभावको वास्तविक अवस्था लगायतका विषयमा जानकारी लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

पछिल्लो समय बजारमा ग्यासको अभाव देखाउँदै उपभोक्तासँग बढी मूल्य असुल्ने, ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा सहज रूपमा ग्यास उपलब्ध नगराउने गरेको गुनासो बढ्दै गएको छ । यस्ता गुनासोपछि प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्र र गोदामहरूको अनुगमनलाई तीव्रता दिएको हो ।

प्रहरी निरीक्षक श्रेष्ठले खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने, लुकाएर राख्ने वा उपभोक्तालाई ठगी गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले उपभोक्तालाई सहज र निर्धारित प्रक्रियाअनुसार ग्यास उपलब्ध गराउनु व्यवसायीको दायित्व रहेको उल्लेख गर्दै बजारमा अनियमितता वा उपभोक्ता हितविपरीतका गतिविधि भेटिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी दिए ।

प्रहरीको अनुगमनपछि मलंगवाका स्थानीय तथा सेवाग्राहीले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । ग्यासको अभाव र कालाबजारीका कारण उपभोक्ताले समस्या भोगिरहेका बेला नियमित तथा प्रभावकारी अनुगमनले बजारमा हुने अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

स्थानीय उपभोक्ताहरूले बजारमा ग्यासको वास्तविक आपूर्ति, बिक्री मूल्य र मौज्दातबारे सम्बन्धित निकायले नियमित निगरानी गर्नुपर्ने मागसमेत गरेका छन् । उनीहरूले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने व्यवसायीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले अत्यावश्यक वस्तुको आपूर्ति तथा बिक्री वितरणमा हुने अनियमितता नियन्त्रण गर्न निगरानीलाई निरन्तरता दिने जनाएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठले बजारमा उपभोक्ता हितविपरीतका गतिविधि हुन नदिन प्रहरीको निगरानी निरन्तर रहने र अनुगमनका क्रममा कुनै पनि प्रकारको कालाबजारी, कृत्रिम अभाव वा ठगी भेटिएमा कानुनी कारबाही अघि बढाइने बताए ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर