सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन्। उनलाई प्रहरीले बुधबार बिहान ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडिबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर रोकेर तलासी लिएको थियो। त्यस क्रममा स्कुटरमा लुकाएर राखिएको स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
नगद फेला परेपछि प्रहरीले स्कुटर चालक जगन्नाथलाई नियन्त्रणमा लिएको हो।
बरामद रकमको स्रोत तथा कारोबारका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



