मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद नगदसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ। बरामद रकमको वास्तविक स्रोतबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।



