किसानलाई चर्को मूल्यमा मल बेच्ने तीन जना प्रहरी नियन्त्रणमा 

मलंगवा । सर्लाही प्रहरीले कालोबजारी गरी रासायनिक मल बिक्री गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको पसलबाट डीएपी र युरिया मलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्वसाधारण कृषकबाट प्राप्त गुनासो र सूचनाका आधारमा मलंगवा क्षेत्रमा निगरानी बढाइएको थियो । सोही क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जनरल स्टोरमा अनुगमन गर्दा अनुमति बिना रासायनिक मल बिक्री भइरहेको भेटिएको हो ।

प्रहरीले पसलमा रहेका मलंगवा–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिन्दन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले खेतमा प्रयोग हुने डीएपी मल प्रतिवोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको बताएका प्रहरीले जनाएको छ ।

त्यसपछि गरिएको खानतलासीमा ५० किलो तौलका डीएपी मलका चार बोरा र ५० किलो तौलको युरिया मलको एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनीहरूले उक्त मल मलंगवा नगरपालिका–४ स्थित शिवसागर चोकमा मलंगवा–२ निवासी राहुल गुप्ताले सञ्चालन गरेको पसलबाट प्रतिवोरा ३ हजार २ सय रुपैयाँमा खरिद गरी बढी मूल्यमा बिक्री गर्ने गरेको बताएका थिए ।

त्यसपछि प्रहरीको टोली राहुल गुप्ताको पसलमा पुगेर खानतलासी गर्दा युरिया मलका थप सात बोरा बरामद गरेको थियो । घटनापछि राहुल गुप्तालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर