काठमाडौ : नेकपा माओवादी केन्द्रले शान्तिपूर्ण आन्दोलनरत शिक्षकहरू र सञ्चारकर्मीमाथि भएको नृशंस दमनको घोर भर्त्सना गरेको छ। पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको कडा आलोचना गरे।
विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरू विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्वक आन्दोलन गर्दै थिए, र सञ्चारकर्मीहरूले समाचार सङ्कलन गर्दै थिए। तर, यस क्रममा भएको दमन हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ।” उनले यस घटनामा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा रहेका शिक्षकहरूको समस्याको समाधान गर्न सरकारको ध्यान आकर्षित गर्न सकेको छैन भने, यसको सट्टा उनीहरूको आवाज दबाउन कोसिस गरिएको आरोप लगाए।
पार्टीले शिक्षक र बौद्धिक जगतको सम्मानमा चोट पुग्ने कार्य भएको बताउँदै, यो सरकारको विवेकहीन र गैर जिम्मेवार व्यवहारको पराकाष्ठा भएको र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको दाबी गरेको छ। माओवादीले सरकारलाई बहुमतको दम्भ छोडेर शिक्षकहरूको समस्या समाधान गर्न गंभीरतापूर्वक पहल गर्न आग्रह गरेको छ।
आन्दोलनमा घाइते भएका शिक्षक र सञ्चारकर्मी सविना कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माओवादीले सरकारसँग वार्तामा बस्न र शिक्षकहरूको माग पूरा गरेर कक्षा कोठामा फर्काउने वातावरण निर्माण गर्न माग गरेको छ।
यो घटनामा दर्जनौँ शिक्षक कर्मचारी र पत्रकार सविना कार्की घाइते भएका थिए। २५ दिनदेखि विभिन्न माग राखेर देशभरका शिक्षक राजधानीमा आन्दोलनरत छन्।




