रौतहट । रौतहटको वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको गोली प्रहार गरी हत्या गरिएको खुलासा भएको छ। अनुसन्धानका क्रममा टिकटक बनाउने निहुँमा बोलाएर हत्या गरिएको पुष्टि भएको हो।
२५ वर्षीय नागेन्द्र सहनीले मोबाइलमार्फत बालकलाई टिकटक बनाउने भन्दै बोलाएर चाँदी खोलामा लगेका थिए। त्यसपछि छातीमा दुई राउन्ड गोली हानी हत्या गरिएको प्रहरी अनुसन्धानमा देखिएको छ।
पुरानो रिसिइबी साँध्न योजनाबद्ध रूपमा हत्या गरिएको प्रहरीको भनाइ छ। यस घटनामा संलग्न रहेको आरोपमा २५ वर्षीय नागेन्द्र सहनीसहित साधु भनिने २२ वर्षीय अर्का नागेन्द्र सहनी, विकास पटेल र अनिल साहलाई पक्राउ गरिएको छ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।



