सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौना क्षेत्रबाट ठूलो परिमाणको स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आईतवार बिहान प्रहरी चौकी खुटौनाबाट प्रहरी सहायक निरीक्षक संजय महतोको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ प्रवेश गरिरहेको BR 06 CT 2422 नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकल चालक भारत, बिहार राज्य, सितामढी जिल्लाको कुनौली थाना क्षेत्रका करिब ४० वर्षीय शम्भु कुमार साहले लुकाईछिपाई ल्याइरहेको अवस्थामा नेपाली रुपैयाँ ३२ लाख ३५ हजार ४४० र भारतीय रुपैयाँ २ हजार १ सय ४० फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका साहसँग नगद रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो । बरामद नगद रकम, मोटरसाइकल तथा चालकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान भइरहेको छ र उक्त नगद रकम कसरी र किन नेपाल भित्र्याइँदै थियो भन्ने विषयमा थप विवरण संकलन भइरहेको छ ।



