सर्लाही : सर्लाहीको बरहथवा स्थित ईलाका प्रहरी कार्यालय फेरि विवादमा तानिएको छ । बरहथवा नगरपालिका –३ निवासी २८ वर्षीय सुशील महतोले प्रहरी हिरासतमा रहँदा अमानवीय व्यवहार र शारीरिक यातना सहनुपरेको गम्भीर आरोप लगाएका छन् ।
मोटरसाइकल चोरीको आरोपमा वैशाख ४ गते उनलाई प्रहरीले बोलाएर थुनामा राख्यो । सुशीलले भने अनुसार, कुनै पूर्व सूचना वा प्रमाणबिना उनलाई थुनामा हालिएको मात्र होइन, इन्स्पेक्टर राजन पटेलले डिएसपीको कार्यकक्षमै लगेर बुट र झापडले कुटपिट गरेका थिए ।
“मैले चोरी स्वीकारिनँ, त्यसैले कुटपिट सुरु भयो,” सुशीलले भने। “कानमा यस्तो लाग्यो कि केही चुँडियो, पछि अस्पताल गएपछि थाहा भयो – बायाँ कानको जाली फुटेको रहेछ ।”
कानुनतः प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्नुपर्ने प्रावधान छ, तर महतोका अनुसार उनलाई तीन दिनसम्म अदालत पेस नगरिकन गैरकानुनी रूपमा हिरासतमा राखियो । शनिबार मात्रै उनी रिहा भए ।
घाइते अवस्थामा नगर अस्पताल बरहथवा पुगेका महतो वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचाररत छन् । चिकित्सकीय रिपोर्ट अनुसार कानमा गम्भीर चोट छ ।
प्रहरीको जवाफ भने यससँग मेल खाँदैन । इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापा भन्छन्, “यस्तो केही भएको छैन, कार्यालयमै आएर बुझ्न सकिन्छ ।”
तर यो घटनाले फेरि एकपटक प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । सुरक्षाको जिम्मेवारी पाएको निकायले नै यदि कानुनको उल्लंघन गर्यो भने सर्वसाधारणले कहाँ न्याय खोज्ने ?




