डुमरियामा स्थायी वडा भवन निर्माण सुरु

जितेश यादव / सर्लाही : सर्लाहीको बलरा नगरपालिका–८ डुमरियामा वडा कार्यालयको आफ्नै भवन निर्माणको थालनी गरिएको छ। सामुदायिक भवनमार्फत सेवा दिँदै आएको कार्यालय अब स्थायी संरचनाबाट सेवा प्रवाह गर्न लागिएको हो।

भवन निर्माण कार्यको शिलान्यास बलरा नगरपालिकाका नगरप्रमुख रामा शंकर प्रसाद कुश्वाहाले एक विशेष समारोहबीच गर्नु भएको छ। सो अवसरमा नगरप्रमुख कुश्वाहाले नगरपालिका सधैँ नागरिकमुखी योजनामा केन्द्रित रहेको बताउँदै वडाको पूर्वाधार सुदृढीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले निर्माण समितिलाई गुणस्तरीय र समयमा काम सम्पन्न गर्न निर्देशन दिँदै नयाँ भवनबाट सम्पूर्ण वडावासीले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

वडा कार्यालय भवनका लागि १० धुर जग्गा निःशुल्क प्रदान गर्ने पूर्व वडा अध्यक्ष रवि साहलाई नगरप्रमुख कुश्वाहाले विशेष धन्यवाद ज्ञापन गर्नुभयो। जग्गा दानदाताको योगदानलाई उच्च सम्मान गर्दै उहाँले समाजसेवामा यस्तो भूमिकाले अन्यलाई पनि प्रेरणा दिने उल्लेख गर्नुभयो।

पालिकाले चालु आर्थिक वर्षमै २५ लाख रुपैयाँ बजेट विनियोजन गरी भवन निर्माण प्रक्रिया अघि बढाएको छ। नगरप्रमुख कुश्वाहाले अर्को आर्थिक वर्षभित्रै आवासीय कक्ष, सभाहल, दर्ता काउन्टर र अभिलेख कक्ष जस्ता आवश्यक सुविधासहितको भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुशील साह, वडा सदस्यहरू, कार्यपालिका सदस्य, वडाका कर्मचारी, तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय