रौतहट : रौतहटको ईशनाथ नगरपालिका-१ स्थित बन्जरहा झुलुङ्गे पुल नजिकैबाट प्रहरीले सोमबार राति एक युवकलाई अवैध हातहतियार र गाँजासहित पक्राउ गरेको छ।
भारतीय सीमासँग सटेको क्षेत्रबाट पक्राउ परेका युवक गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन्। उनीसँग प्रहरीले १ थान कटुवा पेस्तोल, लोड गरिएको अवस्थामा ८ एमएमको १ राउण्ड गोली, थप ३ राउण्ड गोली तथा करिब १०९ किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट एक इन्स्पेक्टरको नेतृत्वमा गएको गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा निगरानी गर्दै गर्दा गिरीलाई टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ जाँदै गरेको देखेपछि उनी भाग्न खोजेका थिए। तर प्रहरी टोलीले उनलाई खेद्दै पक्राउ गर्न सफल भएको हो।
गिरीको शरीर तलासी गर्दा पाइन्टको गोजीमै लोड गरिएको कटुवा पेस्तोल र गोली फेला परेको प्रदेश प्रहरी कार्यालय मधेशका सूचना अधिकारी एसपी ठाकुर प्रसाद पोखरेलले जनाएका छन्।
हाल गिरीमाथि लागुऔषध र हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।



