सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–११ स्थित हिरापुरमा शंकास्पद रूपमा स्याउ बोकेको कन्टेनर गाडी प्रहरीको संयुक्त टोलीद्वारा नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय हिरापुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा हरकठवाबाट हिरापुरतर्फ आइरहेको ना ४ ख ७१५० नम्बरको कन्टेनर गाडीलाई साँझ ५:५० बजे रोकी जाँच गर्दा, गाडीभित्र रहेको स्याउको बिल बिजक शंकास्पद देखिएको थियो ।
जाँचका क्रममा कन्टेनरमा अन्दाजी १४ लाख रुपैयाँ बराबरको स्याउ फेला परेको छ । उक्त गाडी र त्यसका चालक पर्सा जिल्ला भवानीपुर गाउँपालिका–२ निवासी २६ वर्षीय संजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको छ ।
घटनासम्बन्धी थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।



