ऋण लिएर ब्याज नतिरेपछि १९ वर्षीय राहुलको हत्या, शव वर्कसपभित्र गाडिएको अवस्थामा फेला

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरस्थित बाहुनधारा निवासी १९ वर्षीय राहुल साह चैत ११ गतेदेखि सम्पर्कविहीन थिए। उनका बुवाले प्रहरीमा निवेदन दिँदै छोराको खोजी गरिदिन अनुरोध गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले गोकर्णेश्वर नगरपालिका–८ मा रहेको आरके मोटरसाइकल वर्कसपमा राहुलको लेनदेन रहेको तथ्य पत्ता लगायो।

प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमालको टोली वर्कसप पुगेपछि खनेर हेर्दा चैत १५ गते वर्कसपको भित्री भागमा राहुलको शव भेटियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा अनुसार, मृतकको शव गाडिएको अवस्थामा भेटिएपछि अनुसन्धान अझै अघि बढाइएको छ।

प्रहरी अनुसन्धानमा वर्कसप सञ्चालक निप मण्डलसहित ६ जनाले मिलेर राहुलको हत्या गरेको खुलेको छ। पक्राउ पर्नेहरूमा सर्लाहीका निप मण्डल (२२), विजय यादव (१८), करनकुमार महतो (१८), जोधन मण्डल (२३), उत्तम मण्डल (४५), र भारतका सुनील शर्मा (२९) रहेका छन्। शर्मा दक्षिणढोका बसोबास गर्दै आएका थिए।

हत्या पछाडिको मुख्य कारण ऋणसम्बन्धी विवाद रहेको खुलेको छ। राहुलले वर्कसप सञ्चालक निप मण्डललाई ६० हजार रुपैयाँ सापटी दिएका थिए, जुनमा प्रत्येक महिनाको ७ हजार ब्याज बुझाउने सर्त थियो। तर मण्डलले आठ महिनासम्म न ब्याज तिरे न सावा फिर्ता गरे। चैत ११ गते रकम माग्न वर्कसप पुगेका राहुलले पैसा नपाएसम्म नफर्किने अडान लिएका थिए। त्यसपछि उनलाई गम्छाले घाँटी कसेर हत्या गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, वर्कसपमा काम गर्ने अन्य मिस्त्री र सहायकहरूको सहयोगमा शव गाडिएको थियो। हाल आरोपीहरूमाथि ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय