सर्लाही : सर्लाही जिल्ला अदालतमा सामान्य कार्य समय सुरु हुने वित्तिकै कर्मचारी, सेवाग्राही र कानुन व्यवसायीहरूको भीड लागेको थियो। यस्तैमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अचानक अदालत परिसरमा पुगे। उनले सबै गतिविधिहरूलाई ध्यानपूर्वक नियाल्दै सेवाग्राहीसँग अनौपचारिक कुराकानी गरे।
कुराकानीको क्रममा प्रधानन्यायाधीश राउतले सोधे, “तपाईंको समस्या के हो? किन अदालत आउनुभयो?” सेवाग्राहीहरूले उनका प्रश्नहरूको जवाफमा न्यायिक प्रक्रियामा ढिलाइ, फैसला कार्यान्वयनमा समस्या, तारिख धाउनुपर्ने झन्झट र बारम्बार अदालत जानुपर्ने अवस्थाका बारेमा गुनासा गरे। यद्यपि, उनीहरूले न्यायाधीश वा कर्मचारीहरूले घुस मागेको भने उल्लेख गरेनन्।
प्रधानन्यायाधीश राउतले उक्त गुनासोलाई गम्भीरतासाथ लिँदै भने, “मैले कर्मचारी र न्यायाधीशहरूलाई सोध्दा कुनै घुस माग्ने गुनासा भने आएन। तर काममा ढिलाइ र चाँडो निर्णयको अभावका कारण सेवाग्राहीहरूले गुनासो गरे।”
करिब डेढ घण्टा सेवाग्राहीसँग प्रत्यक्ष कुराकानी गरेपछि प्रधानन्यायाधीश राउतले अदालतका कर्मचारी र न्यायाधीशसँग भेट गरे। उनले जनाए, “पूर्वसूचना नदिई निरीक्षण गर्दा वास्तविक अवस्था थाहा हुन्छ। अब सुधारका लागि आवश्यक कदम चालिनेछ। ढिलाइ र सास्तीको समस्या समाधान गर्न हमी प्रतिबद्ध छौं।”
सर्लाही जिल्ला अदालतको निरीक्षणपछि प्रधानन्यायाधीश राउत महोत्तरी जिल्ला अदालतमा पनि यस्तै निरीक्षणमा पुगे। महोत्तरीमा पनि सेवाग्राहीले उस्तै गुनासो गरेका थिए, जसले प्रधानन्यायाधीशलाई सुधारका लागि ठोस कदम चाल्न सजिलो बनाएको छ।
प्रधानन्यायाधीश राउतले स्पष्ट पारे, “अब सुधारका लागि संयन्त्र परिचालन गरिनेछ र सेवाग्राहीको दुःखको समाधान खोज्नका लागि हामी तत्पर छौं।”



