कोलकाता । पश्चिम बंगालको दक्षिण परगना जिल्लाको पथरप्रतिमा क्षेत्रमा सोमबार एक पटाका कारखानामा भएको विस्फोटमा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ । पटाका भण्डारणमा गरिएको स्थानमा विस्फोट हुँदा एकै परिवारका चार बालबािलकासहित ८ जनाको मृत्यु भएको हो । घटना हुँदा परिवारका एघार सदस्यमध्ये तीन जना घर बाहिर रहेको प्रहरीले जनाएको छ।
तीनजना बाहेक अरू सबैको मृत्यु भएको र व्यवसायमा संलग्न दाजुभाई चन्द्रकान्त बनिक र तुषार बनिकविरुद्ध प्रहरीले गैरजमानती धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
प्रहरीले दुवै दाजुभाइसँग पटाका व्यवसायको लागि इजाजतपत्र रहेको बताएको छ ।
मृत्यु हुनेमा चन्द्रकान्त र तुषारका बुबा अरविन्द बनिक (६५), हजुरआमा प्रभावती बनिक (८०), चन्द्रकान्तकी श्रीमती सन्तवाना बनिक (२८), छोरा अर्णव बनिक (९), छोरी अस्मिता वनिक (८ महिना), तुषारकी छोरी अनुष्का बनिक (६ महिना) र छोरा अंकित बनिक (६ महिना) रहेका छन् ।
विस्फोटको समयमा दुइ दाजुभाई र आमा घरबाहिर रहेको र तुषारकी श्रीमती रूपाको उपचारका क्रममा मृत्यु भएको हो । घटनापछि स्थानीयवासीले उक्त घरमा लामो समयदेखि अवैध पटाका उत्पादन भइरहेको आरोप लगाएका छन् ।



