काठमाडौंमा हिंसात्मक प्रदर्शन : सुरक्षा प्रशासन असफल, एसएसपी अधिकारीको नेतृत्वमाथि प्रश्न

काठमाडौंमा राजसंस्थाको पक्षमा भएको प्रदर्शन हिंसात्मक बन्दा प्रशासनले स्थितिलाई नियन्त्रण गर्न पूर्ण असफल देखिएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म लागू गरिएको कफ्र्यू शनिबार बिहान ७ बजे हटाइए पनि, राजधानीको सुरक्षा व्यवस्था थप चुनौतीपूर्ण बनेको छ।

प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ भने कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर ज्यान गएको छ। यस्तै, ५३ नेपाल प्रहरी र २४ सशस्त्र प्रहरी घाइते भएका छन् भने ३५ प्रदर्शनकारीसमेत घाइते भएका छन्। प्रदर्शनकारीहरूले निजी घर, व्यापारिक भवन, दलका कार्यालय तथा सार्वजनिक सवारीसाधनहरूमा तोडफोड, आगजनी र लुटपाट गरेका छन्।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको पक्षमा संघर्षरत कार्यकर्ताहरूले प्रदर्शनलाई हिंसात्मक बनाएको सुरक्षाकर्मीको निष्कर्ष छ। तीनकुनेमा आयोजना गरिएको प्रदर्शनमा सुरूवातदेखि नै गडबड भइरहेको भए पनि काठमाडौँ परिसर प्रमुख एसएसपी विश्व अधिकारीले नियन्त्रण गर्न नसकेको आलोचना भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, प्रदर्शन योजनाबद्ध थियो, तर सुरक्षा रणनीति कमजोर रह्यो। दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्न आफ्नै गाडीबाट प्रहरीलाई धक्का दिए पनि उनलाई तत्काल नियन्त्रणमा लिन प्रहरीले प्रयास नगरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यसैगरी, राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेताहरूले प्रदर्शनलाई उग्र बनाउन निर्देशन दिएको दाबी गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि काठमाडौको सुरक्षा प्रबन्ध चुकिएको निष्कर्ष निकालिएको छ। एसएसपी विश्व अधिकारीले नेतृत्व गरेको सुरक्षा संयन्त्र कमजोर भएको र उनले राजधानीको सुरक्षा अवस्था बुझ्न नसकेको आन्तरिक समीक्षामा उल्लेख गरिएको छ। मोरङ र कैलालीमा समेत असफल भइसकेका अधिकारीलाई राजनीतिक पहुँचका कारण काठमाडौंको कमाण्ड दिइएको आरोप लागिरहेको छ।

यस घटनापछि सरकारको सुरक्षा रणनीति र उच्च प्रहरी नेतृत्वमाथि थप प्रश्न उठ्न थालेको छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय