सर्लाहीमा चैते धान रोपाइँमा तीव्रता, किसान उत्साहित

सर्लाही : सर्लाहीका सिँचाइ सुविधा भएका क्षेत्रमा किसानहरूले चैते धान रोपाइँलाई तीव्रता दिएका छन्। कुलो, नहर तथा पम्पसेटमार्फत सिँचाइ गर्न सकिने ठाउँहरूमा किसानहरू उत्साहका साथ खेतीमा जुटिरहेका छन्।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाका अनुसार कविलासी, ईश्वरपुर, लालबन्दी लगायतका क्षेत्रमा किसानहरूले धमाधम रोपाइँ गरिरहेका छन्। पछिल्लो वर्षदेखि जिल्लामा चैते धान खेतीको क्षेत्रफल विस्तार भइरहेको छ। गत वर्ष मात्र ५० हेक्टर क्षेत्रफलमा यो खेती गरिएको थियो।

गहुँ भित्र्याउने सिजन पनि सुरु भएकाले केही किसानहरू हाल गहुँ काट्नमा व्यस्त छन्। गहुँबाली उठिसकेपछि थप किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुने कृषि शाखाले जनाएको छ।

लालबन्दी नगरपालिकाका कृषि शाखाका प्रमुख गोकर्ण पौडेलका अनुसार जब्दी, सिस्वा, हरिभवन, जुटपानी, रानीगन्ज, र जियाजोर क्षेत्रमा पनि रोपाइँ सुरु भइसकेको छ।

यद्यपि, यस वर्ष केही सुक्खा परिस्थितिको सामना गर्नुपरेको भए पनि किसानहरूले उत्साहपूर्वक खेती गरिरहेका छन्। गत वर्षको राम्रो उत्पादनका कारण यस वर्ष पनि अझ बढी उपज हुने अपेक्षा गरिएको छ। यदि सिँचाइ सुविधा सहज रह्यो र मौसम अनुकूल भयो भने चैते धान उत्पादनमा वृद्धि हुने किसानहरूको विश्वास छ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय