काठमाडौं – विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी समूहका जनकमाण्डर दुर्गा प्रसाईंले आफू भागेको नभई सुरक्षित रूपमा बसेको स्पष्ट पारेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रसाईंले प्रधानमन्त्रीले आफूलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिएको सुनेपछि सतर्क बसेको बताए। उनले भने, “म भागेको छैन, झुक्ने मानिस पनि होइन। बरु मर्नेछु, तर नेपाल र नेपालीलाई छाडेर भाग्दिन।”
तीनकुने प्रदर्शनका क्रममा पाँच जनाको मृत्यु भएको दाबी गर्दै उनले बाँकी मृतकहरूको विवरण सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। साथै, पत्रकारमाथि भएको आगजनी, घरमा सुरक्षाकर्मी तैनाथ गरिएको जस्ता घटनाहरूको वास्तविकता बाहिर ल्याउन अपिल गरे।
प्रसाईंले आन्दोलनलाई हिंसात्मक बनाउने कुनै आदेश नदिएको दाबी गर्दै भने, “मान्छेका घर जलाउने होइन, बरु संसद् भवन र एयरपोर्ट कब्जा गरौं भनेर भनेको हुँ।”



