पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्ने तयारीप्रति जनआन्दोलन समितिको कडा आपत्ति, देशव्यापी विरोधको चेतावनी

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने तयारी भइरहेको भन्दै कडा आपत्ति जनाएका छन्। उनले पूर्वराजालाई बदनाम गराउने र घटनामा संलग्न देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने योजना रहेको समाचार बाहिर आएको भन्दै त्यसप्रति गम्भीर विरोध जनाएका छन्। यदि यस्तो प्रयास भएमा देशभर स्वतःस्फूर्त रूपमा नागरिकहरू आन्दोलनमा उत्रने चेतावनी उनले दिएका छन्।

सुवेदीले चैत्र १५ गतेको आन्दोलनपछि पक्राउ परेका समितिका कमान्डर दुर्गा प्रसाईं, सदस्य-सचिव रवीन्द्र मिश्र, सदस्य धवलशमशेर राणालगायत सबैको अविलम्ब रिहाइको माग गरेका छन्। उनले तीनकुनेमा आयोजित आन्दोलनमा सरकार नियोजित रूपमा घुसपैठ गराएको र अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलिएको आरोपसमेत लगाएका छन्।

१५ गते काठमाडौंको तीनकुने केन्द्र बनाएर राजावादीहरूले प्रदर्शन गरेका थिए, जसक्रममा दुई जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। घटनामा केही गाडी तथा घरमा आगजनीसमेत भएको छ। सुवेदीले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै आन्दोलनलाई दबाउन खोजिए अझ कडा संघर्ष हुने बताएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय