सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका – ९ स्थित ताज गेष्ट हाउस एण्ड लज को कोठा नं. ९ मा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक करिब ३०-३१ वर्ष उमेरकी भारतीय नागरिक भएको अनुमान गरिएको छ ।
बुधवार दिउँसो ३ बजे उक्त गेष्ट हाउसमा महिलाको शव झुण्डिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा कोठाभित्रबाट भारत निर्वाचन आयोग र आधार कार्ड फेला परेको छ, जसमा दिल्ली निवासी प्रविन कुमारकी श्रीमती २८ वर्षीया आरती कुमारी को नाम उल्लेख छ । आधार कार्डमा रहेको फोटो मृतकसँग मेल खएकाले उनी आरती कुमारी नै हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरीले घटनास्थलको अनुसन्धान, मुचुल्का तथा प्रमाण संकलनको कार्य पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



